Sunday, 2 April 2017

5th Co-operative Chess

पाचौं सहकारी कप चेस शुरु ।

ललितपुर, २० चैत्र ।
सहकारी कप चेस प्रतियोगिताको पाचौं संस्करण आईतबारदेखि ललितपुरमा शुरु भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ  र ताम्रकार समाजको संयुक्त आयोजनामा शुरु भएको सिवानी एअर ५ औं कामना सहकारी चेस प्रतियोगिताको एक समारोह बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाट्न गरे ।

८० जना खेलाडीको सहभागीता रहेको प्रतियोगिताको पहिलो दिन एक चरणका खेल सञ्चालन भए । शिर्ष वरियताका खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थले भक्तपुर साकोसका केशव मानन्धरलाई हराउँदै सुखद सुरुवात गरे । प्रतियोगिताका ४ मध्ये २ संस्करण पोल्टामा पारिसकेका नेपाल च्याम्पियन मदनकृष्ण पाँचौं संस्करण पनि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको बताए ।

अर्थ बहुउद्देश्यीय सहकारीका फिडेमास्टर मनिष हमालले काठमाडौंका विनिता कपालीलाई पराजीत गरे । गोल्डेनगेट कलेजका केशव श्रेष्ठ तथा हिमाल लामाले क्रमशः नेकोस चेस ऐकेडेमीका मोहम्मद इमरान खान र नेशनल डेभलपमेन्ट सहकारीका सुनिल बहादुर कोईरालालाई हराए । मच्छिन्द्र क्लबका सुरवीर लामाले जनता साकोस ठेचोका सिन्दिरा जोशीमाथि जीत हात पारे । कामना साकोसका बद्रीलाल नेपालीले डायनामिक चेस ऐकेडेमी झापाका बिक्रम सिंघक माथि जीत निकाले । क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीले संजीत तामाङलाई हराए । मखन चेस क्लबका पूण्यमान कर्माचार्यले काठमाण्डौका युवराज पौडेललाई हराए ।

जनता साकोस ठेचोका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी, श्रेयङकर साकोसका सुमित पन्त, नेपाल टेलिकमका गोविन्द खड्का, सारथी साकोस दोलखाका आशिष फुँयाल, डायनामीक चेस एकेडेमीका भुपेन्द्र निरौला, बाराका श्यामलाल दास, संकटा साकोसका नविन तण्डुकार, ललितपुरका रविन्द्र शाक्य, मखन चेस क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ तथा सुमन लामा, काठमाण्डौका भगवतीप्रसाद शर्मा पनि आआफ्नो खेलमा जीत हात पार्दै समान ११ बटुल्न सफल भए ।

त्यसैगरी बारदली साकोस पोखराका रञ्जन कुँवर, नेशनल डेभलपमेन्ट सहकारीका राजेन्द्रप्रसाद श्रेष्ठ, कुम्भिखादी साना किसान सहकारी सप्तरीका मनोज विक, कन्काई साकोस काठमाडौंका सुमन राई, झापाका अनिश कुमार सुवेदी, अन्नपूर्ण माविका मोहम्मद अदनाम अदील, सुजन केसी, सविन चन्द्र घिमिरे, रमेश महर्जन पनि आआफ्नो खेलमा जीत हात पार्न सफल भए ।


फिडेको स्विस लिग प्रणाली तथा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्र्तगत आईतबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन हुनेछन् ।

Monday, 27 March 2017

Asian Zonal Chess 2017

ग्रान्डमास्टर अब्दुल्लाह रकिब ३.२ जोन चेस च्याम्पियन, महिलातर्फ रानी हमिद च्याम्पियन ।

काठमाडौं, चैत १४ ।
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिब सोमबार काठमाडौंमा सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनशीपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजीत गर्दै सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनशीपका लागि समेत छनौट भएका छन् । ९ खेलबाट ८ अंक बनाएका रकिबले १५ सय अमेरिकी डलर नगद पुरस्कार समेत प्राप्त गरे ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन समिमा अख्तरलाई हेड टु हेडमा पछि रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पिनसीपको महिला तर्फको उपाधि हासील गर्न सफल रहिन् । च्याम्पियनसीपको अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक बनाएकी ७३ वर्षीय वुमन इन्टरनेशनलमास्टर रानीले १ हजार अमेरिकी डलर नगद हात पारीन् । टाईब्रेकमा पछि परेकी वुमन इन्टरनेशनलमास्टर समिमाले नेपालकी सबिना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन ।

प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जीउर रहमान (२५२०) नेपालका केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहे । उनले १ हजार अमेरिकी डलर नगद प्राप्त गरे । त्यसैगरी अन्तिम खेलमा आफ्नै देशका फिडेमास्टर हसन मेहेदी (२२६३) सँग बराबरीमा रोकिएका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) ७ अंकका साथ तेश्रो स्थानमा रहँदै ५ सय अमेरिकी डलर नगद प्राप्त गर्न सफल भए ।

श्रीलंकाली कालुगाम्पिटीया आर एसका लागि च्याम्पियनसीप सुखद रह्यो । २१२९ रेटेड उनले अन्तिम चरणमा नेपालका हिमाल लामा (२०८१) माथि जीत हात पारेका कालु ६ अंकका साथ चौथो स्थानमा रहँदै फिडेमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए ।

बंगलादेशका फिडेमास्टरद्धय हसन मेहेदी तथा रहमान साइद मफजुर तथा नेपालका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ समान ५ दशमलब ५ अंकका साथ क्रमशः पाचौं, छैटौं र सातौं स्थानमा रहन सफल भए । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, बंगलादेशका ग्रान्डमास्टर इनामुल हुसेन र फिडेमास्टर मोहम्मद तैवुर रहमान क्रमशः आठौं, नवौं तथा दशौं स्थानमा रहे ।

च्याम्पियनसीपबाट नेपालका हिमाल लामा, नविन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गर्न सफल भए ।

त्यसैगरी महिलातर्फ बंगलादेशी वुमन फिडेमास्टर नजराना खान ६ अंकका साथ तेश्रो स्थानमा रहन सफल भईन । अन्तिम चरणमा नेपालकी शान्ता थापालाई हराउन सफल उनले ३ सय अमेरिकी डलर पुरस्कार हात पारीन् । त्यसैगरी बंगलादेशी सरमीन समिहा सिम्मि तथा वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन समान ५ दशमलब ५ अंकका साथ चौथो तथा पाचौं स्थानमा रहन सफल भए । बंगलादेशी सरमीन समिहा सिम्मि तथा श्रीलंकाली सौम्य जनावले वुमन क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे ।

श्रीलंकाली सौम्य जैनव ५ अंकका साथ छैटौं स्थानमा रहिन । बंगलादेशी वुमन फिडेमास्टर महमुदा हक चौधरी, नेपालका शान्ता थापा तथा सविना श्रेष्ठ क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहे । नेपालकी मतिना कुसी २ अंकका साथ दशौं स्थानमा रहिन् ।


नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न च्याम्पियनसीपमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ४२ जना खेलाडीको सहभागीता रहेको थियो । कुल ६ हजार ५ सय नगद पुरस्कार राशी रहेको च्याम्पियनशीपका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एशीयाली चेस महासंघका डेपुटी प्रेसिडेन्ट भरत सिं चौहान, एसियन जोन ३.२ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार वितरण गरे ।

Asian Zonal Chess 2017

नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मालाई क्यान्डिडेटमास्टरको उपाधि पक्का

काठमाडौं, चैत १३ ।
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा उभिएका छन् । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसीप अन्र्तगत आईतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ अंक बनाए ।

अर्का बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) आफ्नै देशका इन्टरनेशनलमास्टर आवु सुफिन साकिल (२३४३) लाई पराजीत गर्दै ६ दशमलब ५ अंकका साथ रकिबलाई पछ्याई रहेका छन् ।

नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मा तथा श्रीलंकाली कालुगाम्पिटीया आर एस क्यान्डिडेटमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए । आठौं चरणको खेलमा २०८१ रेटेड हिमालले वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थलाई बराबरीमा रोक्दै ४ दशमलब ५ अंकका साथ क्यान्डिडेटमास्टरको उपाधि पक्का गरेका हुन् । त्यस्तै १८४८ रेटेड भगवतीप्रसादले माल्दिभ्सका अहमद अमान इब्राहिमलाई तथा २०९९ रेटेड कालुगाम्पिटीयाले नेपालका सुमित पन्त (१९३५) लाई हराउँदै आआफ्नो उपाधि पक्का गरे ।

बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) आफ्नै देशका फिडेमास्टर साइद रहमान मफुजुर (२२५०) लाई हराउँदै ६ अंकका साथ अंक तालिकाको तेश्रो स्थानमा रहेका छन् । त्यस्तै अर्का बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) ले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली (२००९) लाई पराजीत गर्दै ५ अंक बनाए । उता बंगलादेशी फिडेमास्टरद्धय हसन मेहेदी (२२६३) र मोहम्मद रहमान तैवुर (२३४१) बीचको स्पर्धामा मेहेदीले सफलता हात पारे ।

नेपालका केशव श्रेष्ठ, बंगलादेशका इनामुल हुसेन तथा हसन मेहेदी र श्रीलंकाली कालुगाम्पिटीया समान ५५ अंकमा रहेका छन् । बंगलादेशका साकिल तथा मफजुर, नेपालका मदककृष्ण, हिमाल तथा भगवतीप्रसाद समान ४ दशमलब ५ अंकमा रहेका छन् ।

बंगलादेशका मोहम्मद रहमान तैवुर, नेपाली फिडेमास्टर मनिष हमाल, क्षितीज भण्डारी, बद्रीलाल नेपाली, सुमित पन्त, सुमन राई तथा मिलन लामा समान ४४ अंकमा रहेका छन् । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, नविन तण्डुकार तथा राजेन्द्रकुमार पराजुली र माल्दिभ्सका अनरेटेड अहमद अमान इब्राहिमको समान ३ दशमलब ५ अंक रहेको छ ।

महिलातर्फको उपाधि होड रोमाञ्चक हुँदै

एसीयन जोनल चेस च्याम्पियनसीपको महिलातर्फको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । सातौं चरणसम्म अपराजीत ७ अंक बटुलेकी बंगलादेशकी वुमन इन्टरनेशनलमास्टर रानी हमीद आईतबार भएको आठौं चरणको खेलमा आफ्नै देशकी वुमन फिडेमास्टर सुल्ताना सरमीन सिरीनसँग पराजीत भएपछि उपाधि होड खुला भएको छ । रानीसँगै समिमा अख्तरको पनि समान ७ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेकी बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमाले आठौं चरणमा नेपालकी पुनम प्रसाईंमाथि सहज जीत हात पारिन् ।

श्रीलंकाली सौम्य जैनव तथा बंगलादेशी वुमन फिडेमास्टर नजराना खान समान ५५ अंकमा रहेका छन् । त्यस्तै बंगलादेशी सुल्ताना सिरीन र समिमा सिम्मी सरीनको समान ४ दशमलब ५ अंक भएको छ ।

नेपालकी शान्ता थापा तथा सविना श्रेष्ठ आआफ्नो खेल जीत्दै समान ४४ अंक बनाउन सफल भए । १६२६ रेटेड शान्ताले नेपालकै मतिना कुसी (१७०१) तथा १४०५ रेटेड सविनाले अर्की नेपाली खेलाडी सिन्दिरा जोशी (१६२५) लाई हराए ।


च्याम्पियनसीप अन्र्तगत सोमबार नवौं चरणका खेल सञ्चालन हुनेछन् ।

Saturday, 25 March 2017

Asian Zonal Chess 2017

ग्रान्डमास्टर रकिबको अग्रता कायमै

काठमाडौं, चैत १२ ।
नेपालका उदियमान युवा खेलाडी सुमित पन्त (१९३५) लाई पराजीत गर्दै बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता कायम राखेका छन् । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत शनिबार सम्पन्न सातौं चरणको प्रतिष्पर्धात्मक खेलको १४ औं चालमा ब्लन्डर गरेपछि सुमितले १५ औं चालमा रकिबलाई नतिजा सुम्पिए । ७ चरणको समाप्तिमा रकिबको ६ अंक भएको छ ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) अर्का बंगलादेशी फिडेमास्टर हसन मेहेदी (२२६३) लाई पराजीत गदैं ५ दशमलब ५ अंकका साथ अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् ।
पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) ले नेपालका अर्का युवा प्रतिभा हिमाल लामा (२०८१) लाई हराउँदै ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भए । त्यसैगरी बंगलादेशी ग्रान्टमास्टर नियाज मुर्सीद (२४२२) पनि आफ्नै देशका फिडेमास्टर मोहम्मद रहमान तैवुर (२३४१) लाई हराउँदै ५ अंक बनाउन सफल भए ।
बंगलादेशी अन्र्तराष्ट्रिय मास्टर आवु सुफिन साकिल (२३४३) ले नेपालका फिडेमास्टर मनिष हमाल (२०५२) माथि जीत निकाले । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी (२०३६) पनि बंगलादेशी फिडेमास्टर साइद महफुजुर रहमान (२२५०) सँग पराजय व्यहोर्न पुगे । साकिल र साइद समान ४ दशमलब ५ अंकमा रहेका छन् ।
नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ (२०९९) ले बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) सँग बराबरीको नतीजा हात पार्न सफल भए । नेपालका मदनकृष्ण , सुुमित पन्त, हिमाल लामा तथा बद्रीलाल नेपाली, श्रीलंकाली कालुगाम्पिटीया आर एस, बंगलादेशी इनामुल हुसेन, हसन मेहेदी तथा मोहम्मद तैवुर समान ४४ अंकमा रहेका छन् । २१२९ रेटेड श्रीलंकाली कालुगाम्पिटीयाले नेपालका मिलन लामा (१७७१) लाई हराए । उता बद्रीलालले  नेपालकै क्यान्डिडेटमास्टर सजीन महर्जनलाई पराजीत गरे ।


माल्दिभ्सका अनरेटेड अहमद अमन इब्राहिमले नेपालका राजेन्द्रकुमार पराजुली (१७४०) लाई हराउँदै ३ दशमलब ५ अंक बनाए । उनीसँगै नेपालका मनिष हमाल, भगवतीप्रसाद शर्मा (१८४८) तथा क्षितीज भण्डारीको समान ३ दशमलब ५ अंक भएको छ ।

श्रीलंकाली सौम्य जैनव बनिन् वुमन क्यान्डिडेटमास्टर
श्रीलंकाली सौम्य जैनव (१७८८) ले वुमन क्यान्डिडेटमास्टर टाईटल प्राप्त गरेकी छन् । काठमाडौंमा जारी एशियन जोनल चेस च्याम्पियनशीपको महिलातर्फको स्पर्धामा शनिबार बंगलादेशी वुमन फिडेमास्टर नजराना खान (१९०४) सँग बराबरीको नतिजा आत्मसात गरेकी जैनवको ४ दशमलब ५ अंक भएको छ ।
उता पहिलो बोर्डमा कालो गोटीबाट खेलेकी बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) ले नेपालकी सविना श्रेष्ठ (१४०५) लाई हराउँदै ७ अंकका साथ आफ्नो एकल अग्रता कायम राखेकी छन् ।
नेपालकी शान्ता थापा (१६२६) लाई पराजीत गर्दै बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर ६ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् ।
बंगलादेशी नजराना खान, वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी (१७४०), तथा सरमीन समिहा सीम्मी (१८४२) समान ४४ अंकमा रहेका छन् । त्यसैगरी बंगलादेशी वुमन फिडेमास्टर सुल्तान सरमीन सिरिन (१९९८) नेपालकी सिन्दिरा जोशी (१६२५) लाई हराउँदै अंकतालिकामा ३ दशमलब ५ अंक बनाउन सफल भईन् ।
नेपालका शान्ता थापा र सबिना श्रेष्ठ समान ३३ अंकमा रहेका छन् । आईतबार आठौं चरणका खेल सञ्चालन हुनेछन् ।