Sunday 18 June 2023

ईन्टरनेशनल मास्टर मोहम्मद नुवैरशाह सेखद्धारा साउथ एशियन चेस च्याम्पिनशीपको उपाधि रक्षा

३ असार, ललितपुर ।

भारतीय ईन्टरनेशनल मास्टर मोहम्मद नुवैरशाह सेख साउथ एशियन चेस च्याम्पिनशीपको उपाधि रक्षा गर्न सफल भएका छन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा गोदावरी स्थित होटल भ्यु भृकुटीमा आईतबार सम्पन्न च्याम्पियनशीपको नवौं चरणको खेलमा नेपालका फिडेमास्टर क्षितीज भण्डारीलाई पराजित गरेका नुवैरले १ लाख ५० हजार नगद पुरस्कार समेत हात पारे । सन् २०१९ को नोभेम्बर महिनामा बंगलादेशको ढाकामा सम्पन्न च्याम्पियनसीपको पहिलो संस्करणका विजेता समेत रहेका नुवैरले आफ्नो उपाधि रक्षा गर्ने क्रममा अपराजीत रहँदै ९ खेलबाट ८ दशमलब ५ अंक बनाए । राउण्ड रोविन प्रणालीमा सम्पन्न च्याम्पियनसीपमा नेपाल च्याम्पियन फिडेमास्टर रुपेश जयसवालसँग बराबरीको नतिजा हात पारेका उनले बाँकी सबै खेलमा जीत हात पार्न सफल भए । च्याम्पियनसीपमा महिलातर्फको उपाधि वुमन ईन्टरनेशनल मास्टर साक्षी चितलांगेले जितेकी छन् । महिलातर्फको उपाधि हात पार्ने क्रममा सतप्रतिशत जित हासिल गर्न सफल साक्षीले नगद १ लाख हात पारेकी छन् ।

च्याम्पियनसीपमा सहभागी एकमात्र ग्रान्डमास्टर सायानतन दास ७ दशमलब ५ अंकका साथ दोश्रो हुन सफल भए । उपाधि विजेता नुवैरशाहसँग पहिलो चरणमा अंक गुमाउन पुगेका उनी नेपाली स्टार रुपेशसँग समेत बराबरीमा रोकिए भने अन्य ७ खेलमा जीत हात पार्दै १ लाख नगद हासिल गरे । त्यसैगरी ९ खेलबाट ६ अंक बनाउन सफल नेपाल च्याम्पियन रुपेश जयसवालले तेश्रो स्थानमा रहँदै ६० हजार नगद पुरस्कार प्राप्त गरे ।

महिलातर्फ बंगलादेशका वादिफा अहमद ५ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहन सफल भईन भने महिला नेपाल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी ४ दशमलब ५ अंकका साथ तेश्रो हुन सफल भईन । दोश्रो तथा तेश्रो हुन सफल वादिफा र सुजनाले क्रमशः ६० हजार तथा ४० हजार नगद प्राप्त गरे ।

दक्षिण एसियाली राष्ट्रहरु नेपाल, बंगलादेश, भारत, पाकिस्तान र भुटानका खेलाडीको सहभागितामा मंसिर ३० गतेबाट शुरु भएको च्याम्पियनशीपका लागि राष्ट्रिय खेलकुद परिषद, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्जोसोम गाउँपालिका, बागमती गाउँपालिका, महाँकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिको आर्थिक सहयोग रहेको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए । 


No comments: