Sunday, 23 April 2023

National Chess Championship Nepal 2023

 राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

१० वैशाख, काठमाडौं । खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बनेका छन् ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन नवौं चरणको खेलमा रुपेशले राजन सुवेदीलाई हराउँदा सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन् । ८ जित र एक बराबरीको नतिजासहित दुवैले साढे ८ अंक जोडेका हुन् । समान साढे ६ अंकसहित पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र फिडेमास्टर क्षितिज भण्डारी क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे । विजेता रुपेशले २५ हजार तथा दोस्रो र तेस्रो भएका सुरवीर र क्षितिजले क्रमश: १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका ८, साविक विजेता तथा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १–१ गरी १० खेलाडीबीचको राउण्ड रोविन प्रणालीमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी ए च्याम्पियनसिपमा कायम रहेका छन् भने बाँकी सात खेलाडी बी च्याम्पियनसिपमा घटुवा भएका छन् । शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपका लागि स्वतः छनोटसमेत भएका छन् ।

दिव्यांश मन्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स र नेपाल टेलिकमको सह–प्रायोजनमा भएको प्रतियोगितामा महिलातर्फ सुजनाले २५ हजार रुपैयाँ पुरस्कर पाइन् । साढे ५ अंकसहित क्रमश: सुशीला गुरुङ उपविजेता र शान्ति धिमाल तेस्रो भए । नवौं चरणमा यी दुईले बराबरी खेलेका थिए । सुशीलाले १५ हजार तथा शान्तिले १० हजार रुपैयाँ पुरस्कार पाए । खुलातर्फ जस्तै महिलातर्फ पनि शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपमा रहनेछन् भने बाँकी सात जनाले बी च्याम्पियनसिप खेल्नेछन् ।

प्रतियोगितामा खुलातर्फको विजेता रुपेश र महिलातर्फकी सुजनाले बंगलादेशमा यही महिना आयोजना हुने वर्ल्ड कप साइकल एसियन जोनल ३.२ च्याम्पियनसिप तथा एसियन च्याम्पियनसिपका लागि छानिएका छन् । साथै उनीहरुले सन् २०२४ मा हंगेरीको बुढापेष्टमा हुने ४५औं चेस ओलम्पियाडका लागि पनि नेपाली टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

महिलातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतियोगिताकै कान्छी खेलाडी १३ वर्षीया रिया श्रेष्ठ र खुल्लातर्फ १४ वर्षीय पुरुषोत्तम सिलवाललाई महासंघले १५–१७ वैशाखमा आयोजना हुने एसियन युथ मिक्स्ड डवल्स चेस टिम च्याम्पियनसिपमा सहभागिता गराउने भएको छ । एसिया क्षेत्रमा बढ्दो कोरोना संक्रमण दरका कारण यो प्रतियोगिता अनलाइन हुनेछ ।

Final Rank : 

Open

Women

Sunday, 8 March 2020

Hera Maya Womens Chess 2020

हेरामाया श्रेष्ठ स्मृति महिला बुद्धिचालको उपाधि सुजनालाई

काठमाडौं । वर्तमान राष्ट्र्रिय च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनीले काठमाण्डौंमा सम्पन्न हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेकी छन् । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ३ दिने प्रतियोगितामा सात खेलबाट ६ दशमलब ५ अंक जोडन सफल सुजनाले नगद २५ हजार समेत प्राप्त गरिन । 

पूर्व राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी ६ अंकका साथ दोश्रो स्थानमा रहँदै १५ हजार नगद प्राप्त गरिन । त्यसैगरी धनुषाकी स्नेहा यादव ५ दशमलब ५ अंकका साथ तेश्रो हुँदै १० हजार नगद प्राप्त गर्न सफल भईन । काठमाडौंकी आभा पुडासैनी, मिसन युथ क्लबकी सन्तोषी विक तथा काठमाडौंकी मार्सल तामाङ समान पाँच—पाँच अंकका साथ क्रमशः चौथो, पाँचौं तथा छैठौं स्थानमा रहन सफल भए । त्यसैगरी झापाकी कुतिसरा अधिकारी, मिसन युथ क्लबका पुर्णिमा गु्रङ, कास्कीका पुजा भण्डारी तथा ताप्लेजुङका शुसीला गरुङ क्रमशः सातौं देखि दशौं स्थानमा रहे ।

काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । फिडेको स्विस लिग अनुसार ७ चरणसम्म सञ्चालित प्रतियोगितामा ३७ जना खेलाडीको सहभागीता रहेको थियो । काठमाडौं जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष अमुतचन्द्र श्रेष्ठले आफ्नी आमा हेरामायाको स्मुतिमा आयोजित उक्त प्रतियोगितालाई आगामी वर्ष थप सहयोग प्रदान गर्दै जाने प्रतिवद्वता व्यक्त गरे । त्यस्तै यो प्रतियोगितालाई थप भव्य बनाउँदै आगामी वर्षबाट मार्च ८ अर्थात अन्तरराष्ट्रिय महिला दिवसको दिन पारेर नियमीत आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

Thursday, 27 February 2020

हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता हुने

काठमाडौं, १५ फागुन । 
काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा आगामी फागुन २३ देखि २५ गतेसम्म हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता हुने भएको छ । काठमाडौं जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष अमृतचन्द्र श्रेष्ठका आमा स्व. हेरामाया श्रेष्ठ स्मृतिमा आयोजना हुने प्रतियोगितामा देशभरका करिब १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 
कुल ३ लाख ६५ हजार २ सय ५० रुपैयाँ बजेटमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगितामा ७० हजार नगद पुरस्कार राखिएको छ भने पहिलो हुनेले २५ हजार प्राप्त गर्नेछन् । विभिन्न उमेर समूह तथा रेटिङ क्याटागोरी गरि ११ जना खेलाडीले पुरस्कार प्राप्त गर्ने यस प्रतियोगितालाई हरेक वर्ष महिला दिवसका दिन सम्पन्न हुनेगरी आयोजना गरिने आयोजकले जनाएको छ ।
काठमाडौ विशालबजारको रहेको सास ब्यान्कोयटमा संचालन हुने प्रतियोगितामा उपत्यका बाहिरका सहभागीलाई आवासको समेत व्यवस्था गरिएको छ ।