Wednesday, 18 May 2016

National Chess

ईलाममा हुने राष्ट्रिय चेस प्रतियोगिताको तयारी पुरा

५ जेठ, ईलाम ।
शिवानी एअरलाईन्सको प्रमुख प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा यही जेठ ६ गतेदेखि ईलाम सदरमुकाममा शुरु हुने राष्ट्रिय चेस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । ६ दिन सम्म सञ्चालन हुने १९ औं राष्ट्रिय चेस प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा ५३ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन हुने च्याम्पियनसीपमा खुलातर्फ ३५ तथा महिलातर्फ १८ खेलाडीको सहभागीता रहने कार्यक्रम संयोजक एवं नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।


यस प्रतियोगिताको विजेता १९ औं राष्ट्रिय चेस च्याम्पियन हुनेछन भने महिलातर्फका विजेता चौथो राष्ट्रिय विजेता घोषित हुनेछन् । साथै प्रतियोगितामा उत्कृष्ट पाँच स्थानमा रहने खेलाडीले आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरबैजानको बाकुमा हुने ४२ औं चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेशनल ए को रुपमा पहिलोपटक सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागीताका लागि गत बैशाख महिनामा ललितपुरमा नेशनल बि च्याम्पियनसीपको आयोजना भएको थियो । उक्त प्रतियोगिताबाट खुलातर्फ २० तथा महिलातर्फ १२ खेलाडी छनौट भएका हुन । त्यसैगरी ४१ औं चेस ओलम्पियाडका सहभागी, विभिन्न उमेर समुहका राष्ट्रिय विजेता तथा विभागीय टिमका १ एकएक जना खेलाडीले नेशनल एमा प्रतिष्पर्धा गर्नेछन् ।

फिडेको स्विस लिग अनुसार ९ चरणसम्म स्थानीय होटल समिटमा हुने प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गर्नेछन् । बिहिबार झाँकी तथा ¥यालीसहित बजार परिक्रमा गरेर गौतम बुद्ध सभागृहमा भव्य उद्घाटन हुने कार्यक्रमका स्थानीय व्यवस्थापक ईलाम जिल्ला बुद्धिचाल संघका अध्यक्ष याम लिम्बुले बताउनुभयो ।

-उमेश केसी

अन्र्तराष्ट्रिय आर्विटर ।

Friday, 8 April 2016

4th Co-operative Cup Chess Final

सजिनले जिते मोटरसाईकल उपाधि

ललितपुर, २५ चैत्र ।

कामना साकोस ललितपुरका सजिन महर्जनले मोटरसाईकल पुरस्कार जितेका छन् । ललितपुरमा सम्पन्न सहकारी कप चेस प्रतियोगिताको चौथो संस्करणको फाईनलमा गोल्डेनगेट कलेजका हिमाल लामालाई हराउँदै सजिनले उपाधि हासिल गरे ।


क्लासिकल तर्फका दुबै खेल बराबरीमा टुंगिएपछि टाईब्रेकका लागि खेलाईएको ब्लिज खेलमा सजिनले २० को नतिजा हात पारे । प्रतियोगिताका पहिलो र तेश्रो संस्करणका विजेता मदनकृष्ण कायस्थ थाईल्याण्ड तथा दोश्रो संस्करणका विजेता श्यामसुन्दर श्रेष्ठ अष्ट्रेलियामा रहेका छन् । प्रतियोगिताका उपविजेता हिमालले ५० हजार नगद प्राप्त गरे ।

नकआउटतर्फ तेश्रो स्थानका लागि भएको स्पर्धामा थापाथली चेस पार्कका सुमन राईलाई १.५०.५ ले हराउँदै नेशनल डेभलपमेन्ट साकोसका सुमित पन्त तेश्रो भए । उनले ३० हजार नगद प्राप्त गरे भने चौथो भएका सुमनले २५ हजारमा चित बुझाए ।

भुपेन्द्र लगातार दोश्रोपटक लिग च्याम्पियन

त्यसैगरी नियमित लिग तर्फको उपाधि डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले हात पारेका छन् । लगातार दोश्रो पटक लिग विजेता भएका भुपेन्द्रले बिहिबार सम्पन्न नवौं तथा दशौं चरणमा क्रमशः जनता साकोस ठेचोका क्षितीज भण्डारी तथा भक्तपुरका भेट्रान गणेशमान दुवाललाई पराजीत गरे । १० खेलबाट ८ अंक बनाएका उनले २५ हजार नगद समेत प्राप्त गरे ।

उत्कृष्ट फर्ममा देखिएका काठमाण्डौका सुमन लामा ७ दशमलब ५ अंकका साथ लिगतर्फ दोश्रो भए । उनले नवौं चरणमा कामना साकोसका जनार्दन श्रेष्ठ तथा दशौंमा मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै १५ हजार नगद प्राप्त गरे । त्यसैगरी क्षितीज भण्डारी, श्री करुणामय साकोसका बद्रीलाल नेपाली, गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, गणेशमान दुवाल तथा अर्थ बहुउद्येश्यीय सहकारीका फिडेमास्टर मनिष हमाल समान ७ अंकका साथ तेश्रो देखि सातौं स्थान हासिल गर्न सफल भए । ६ दशमलब ५ अंक बनाएका रिजेन्द्र राजभण्डारी, भक्तपुरका विकास कुलुजु तथा जनार्दन श्रेष्ठ आठौं देखि दशौं स्थानमा रहे ।

महिलातर्फ मनास्लु साकोसका अस्मिता अधिकारी, नोबेल कलेजका बिशेखा जयसवाल तथा पिपुल्स कलेजका बिना जयसवाल समान ५ अंकका साथ क्रमशः पहिलो, दोश्रो तथा तेश्रो स्थानमा रहे । त्यसैगरी जनता साकोस ठेचोका सिन्दिरा जोशी तथा अर्थ बहुउद्येश्यीय सहकारीका सविना श्रेष्ठ चौथो तथा पाचौं स्थानमा रहे ।

उमेर समुह अन्र्तगत ५५ वर्ष माथिको पुरस्कार सिवानी एयरलाईन्सका रविन्द्र शाक्य तथा १९ वर्षमुनिको उपाधि शुभ श्रीका आशिष फुँयालले जिते । सिवानी एअरलाईन्सका नविन तण्डुकार १८ सय देखि २ हजार रेटिङ समुहमा अब्बल रहे भने १८ सय भन्दा मुनिको पुरस्कार रुकुमका मिलन रोकाले हात पारे ।

अनरेटेड समुहमा भक्तपुरका केशव मानन्धर र काठमाण्डौका विशाल कुमार श्रेष्ठ क्रमशः पहिलो र दोश्रो भए । उत्कृष्ट स्थानीयको पुरस्कार नेशनल डेभलपमेन्ट साकोस ललितपुरका लवकुमार श्रेष्ठले प्राप्त गरे ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरे ।


उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर

Wednesday, 6 April 2016

Co-operative Chess Semi Final


हिमाल र सजिन मोटरसाईकलका लागि भिड्दै

ललितपुर, २४ चैत्र ।

गोल्डेनगेट कलेजका हिमाल लामा र कामना साकोसका सजिन महर्जन मोटरसाईकल पुरस्कारका लागि भिड्ने पक्का भएको छ । ललितपुरमा जारी सहकारी कप चेस प्रतियोगिताको चौथो संस्करणको फाईनलमा प्रवेश गर्ने क्रममा हिमालले थापाथली चेस पार्कका सुमन राईलाई २० ले हराए ।

उता क्लासिकल तर्फका दुबै खेल बराबरीमा टुंगिएपछि सजिनले फाईनल प्रवेशका लागि सडेनडेथको सहारा लिनुपर्यो । टाईब्रेकका लागि भएको ब्लिज खेल समेत ११ मा टुंगिएपछि खेल सडेनडेथमा पुगेको हो । सडेनडेथमा कालो गोटीबाट खेलेका सजिनलाई बराबरीको नतिजा पर्याप्त थियो भने सुमितलाई निश्चित जीत आवश्यक थियो । एकमिनेट कम समयमा खेलेका सजिनले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जीत हात पारेका हुन् । सुमित पन्त र सुमन राई बिहिबार तेश्रो र चौथो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।

नियमित लिग तर्फ बुधबार आठौं चरणका खेल सम्पन्न भए । मंकादुखु साकोका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै जनता साकोस ठेचोका क्षितीज भण्डारी आठ चरणको समाप्तिमा ६ दशमलब ५ अंकका साथ अग्रस्थानमा रहेका छन् । त्यसैगरी डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला तथा भक्तपुरका गणेशमान दुवाल समान ६ अंकका साथ अंकतालिकामा संयुक्त दोश्रो स्थानमा रहेका छन् । भुपेन्द्रले तीन पटकका राष्ट्रिय च्याम्पियन श्री करुणामय साकोसका बद्रिलाल नेपालीलाई तथा गणेशमानले काठमाडौंका सुमन लामालाई हराएका हुन् ।
नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठसँग बराबरीमा रोकिएका गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठको ५ दशमलब ५ अंक बनाए । उनीसँगै सिवानी एअरका रविन्द्र शाक्य, लुभुका युवा खेलाडी राजकुमार लामा, मंकादुखुका रिजेन्द्र, नेशनलका लवकुमार, काठमाण्डौका सुमन तथा कामना साकोसका जनार्दन श्रेष्ठ समान ५ दशमलब ५ अंकमा रहेका छन् ।

त्यसैगरी अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल, श्री करुणामयका बद्रीलाल, मनास्लु साकोसका अस्मिता अधिकारी, वल्र्डलिंकका सुर्यासन प्रजापति, सामाखुसीका सञ्जित तामाङ, काठमाडौंका डा. प्रयास कक्षपती, ललितपुरका गोपाल महर्जन तथा राजन पुरी, भक्तपुरका विकास कुलुजु तथा केशव मानन्धर, थापाथली चेस पार्कका मदन रायमाझी र नेशनलका मनिराज डांगीको समान ५ अंक रहेको छ ।

पूर्व राष्ट्रिय च्याम्पियन सिवानी एअरका नविन तण्डुकार, पूर्व राष्ट्रिय च्याम्पियन जिल्ला बहुउद्येश्यीय सहकारीका पूण्यमान कर्माचार्य, शुभश्री बहुउद्येश्यीय सहकारीका आशिष फुँयाल, रुकुमका मिलन रोका, थापाथली चेस पार्कका भरत धिमाल तथा नेशनलका सुदर्शन प्रधान समान ४ दशमलब ५ अंकमा रहेका छन् ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको अन्तिम दिन बिहिबार नकआउटतर्फ फाईनल र नियमित लिगतर्फ नवौं तथा दशौं चरणका खेल सञ्चालन हुनेछन् ।

उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर

Tuesday, 5 April 2016

4th Co-operative Chess

सहकारी कप चेसको नकआउट समिकरण पुरा

ललितपुर, २३ चैत्र ।

ललितपुरमा जारी सहकारी कप चेस प्रतियोगिताको नकआउट समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न छैटौं तथा सातौं चरणका खेल पश्चात कामना साकोसका सजिन महर्जनगोल्डेनगेट कलेजका हिमाल लामा, नेशनल डेभलपमेन्ट साकोसका सुमित पन्त र थापाथली चेस पार्कका सुमन राई नकआउट चरणमा प्रवेश गरेका हुन् । नकआउट प्रवेशका लागि सजिनले सातौं चरणमा हिमाल लामालाई पराजीत गर्दै सर्वाधिक ६ अंक जोडे । यसअघि छैटौं चरणको खेलमा सजिनले पूर्व राष्ट्रिय च्याम्पियन श्री करुणामय साकोसका बद्रिलाल नेपालीलाई हराए ।

त्यसैगरी हिमालले छैटौं चरणमा सुमितसँग बराबरी खेले । सुमितले सातौं चरणमा गोल्डेनगेट कलेजका केशव श्रेष्ठलाई बराबरीमा रोक्दै नकआउट प्रवेश चरण गरे । सुमनले छैटौंमा मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी तथा सातौंमा जनता साकोस ठेचोका क्षितीज भण्डारीसँग बराबरी खेले । हिमाल, सुमित र सुमन समान ५ दशमलब ५ अंक हात पार्दै सहकारी कपको नकआउटमा चरणमा पहिलो पटक छनौट भएका हुन् । नकआउटतर्फ पहिलो हुनेले मोटरसाईकल प्राप्त गर्नेछन् भने दोश्रो, तेश्रो तथा चौथोले क्रमशः ५० हजार, ३० हजार तथा २५ हजार नगद प्राप्त गर्नेछन् ।

नकआउट अन्र्तगत बुधबार हुने दोहोरो लेगको खेलमा सजिनले सुमितसँग तथा सुमनले हिमालसँग प्रतिष्पर्धा गर्नेछन् ।

समान ५ दशमलब ५ अंक भएता पनि प्रोगेशिभ प्वाईन्टका आधारमा पछि परेका क्षितीज भण्डारी, रिजेन्द्र राजभण्डारी तथा काठमाडौंका सुमन लामा नियमित लिग तर्फको पुरस्कारका लागि प्रतिष्पर्धा गर्नेछन् । क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, बद्रिलाल नेपाली, सिवानी एअरका रविन्द्र शाक्य, भक्तपुरका गणेशमान दुवाल, नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठ समान ५ अंकका साथ नियमित लिग तर्फ दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल, शुभश्री बहुउद्येश्यीय सहकारीका आशिष फुँयाल, भक्तपुरका विकास कुलुजुलुभुका राजकुमार लामा, ललितपुरका राजन पुरी, कामना साकोसका जनार्दन श्रेष्ठ तथा सिवानी एअरका नविन तण्डुकारको समान ४ दशमलब ५ अंक रहेको छ । त्यसैगरी मनाल्सु बहुउद्येश्यीय सहकारीका अस्मिता अधिकारी, मखन चेस क्लबका सिताराम अग्रवाल, नेशनलका मनिराज डांगी, बाग्लुङका रविन्द्र श्रेष्ठ, ललितपुरका गोपाल महर्जन तथा काठमाडौंको दिपक कुमार पोखरेल समान ४ अंकमा रहेका छन् ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको पाचौं दिन बुधबार नकआउटतर्फ सेमिफाईनल र नियमित लिगतर्फ आठौं तथा नवौं चरणका खेल सञ्चालन हुनेछन् ।


उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर