Thursday 16 August 2018

4th National Team 2018


थापाथलि चेस पार्क र ललितपुर स्पोर्ट्स क्लब फाइनलमा भिड्दै

 श्रावण ३१ गते, ललितपुर । काठमाडौको थापाथली चेस पार्क र ललितपुर स्पोर्टस क्लब  ललितपुरमा जारी तुल्सीलाल स्मृति चौथो राष्ट्रिय क्लब टीम बुद्धिचाल प्रतियोगिताको फाईनलमा भिड्ने भएका छन् । बिहिबार सम्पन्न सेमीफाइनल खेलमा लिगतर्फ अग्रस्थानमा रहन सफल ईलामको गजुरमुखी चेस क्लबलाई ३–१ अंकले पराजित गर्दै थापाथलीले फाईनल यात्रा तय गरेको हो । त्यसैगरी ललितपुरले डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट ईन्टरनेशनल कलेजमाथि २.५–१.५ अंकको जित निकाल्यो ।

थापाथली चेस पार्कका लागि पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका युवा खेलाडी आशिष फुयाँलले क्यान्डिडेटमास्टर कृष्ण थापालाई हार चखाए । यसअघि बुधबार सम्पन्न लिग चरणको अन्तिम स्पर्धामा आशिष र कृष्णको खेल बराबरीमा टुंगिएको थियो । दोश्रो बोर्डमा खेलेका क्यान्डिडेटमास्टर क्षितिज भण्डारीले पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका फिडेमास्टर मनिष हमालमाथि जीत हात पारे । अर्का युवा खेलाडी सुमन राईले तेश्रो बोर्डमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथि जीत निकाले । गजुरमुखीका लागि प्रकाश नेपालले चौथो बोर्डमा शुसील चौधरीलाई पराजित गर्दै सान्त्वना जीत निकाले ।

प्रतियोगितामा पहिलो र दोश्रो वरियता प्राप्त गोल्डेनगेट ईन्टरनेशनल कलेज र ललितपुर स्पोर्टस क्लब बिच भएको सेमिफाईनल खेल अत्यन्तै रोचक रह्यो । सेमिफाईनल स्पर्धामा ३ जना पूर्व तथा १ जना वर्तमान राष्ट्रिय च्याम्पियन उतारेको गोल्डेनगेटका लागि नतिजा सुखद रहेन । उता २ पूर्व राष्ट्रिय च्याम्पियन, १ भेट्रान राष्ट्रिय च्याम्पियन तथा १ क्यान्डिडेटमास्टर उतारेको ललितपुरले जीत आत्मसात गर्दै थापाथलीसँगको फाईनल भिडन्त पक्का ग¥यो ।

पहिलो बोर्डमा पूर्व राष्ट्रिय च्याम्पियनद्धय गोल्डेनगेटका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र ललितपुरका फिडेमास्टर बिलमलाल श्रेष्ठबीचको खेल बराबरीमा टुंगियो । त्यसैगरी दोश्रो बोर्डमा पनि पूर्व राष्ट्रिय च्याम्पियनद्धय गोल्डेनगेटका सुरबीर लामा तथा ललितपुरका बद्रिलाल नेपालीले बराबरी खेले । उता लिग चरणको अन्तिम खेलमा जित हात पार्न सफल ललितपुरका क्यान्डिडेटमास्टर सजिन महर्जनले सेमिफाईनलमा समेत वर्तमान राष्ट्रिय च्याम्पियन मदनकृष्ण कायस्थलाई बराबरीमा रोके ।  त्यस्तै भेट्रान राष्ट्रिय विजेता जनार्दन श्रेष्ठले चौथो बोर्डको खेलमा पूर्व राष्ट्रिय च्याम्पियन भुपेन्द्र निरौलामाथि कठिन जीत निकाले ।

शुक्रबार हुने फाईनल खेलमा ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क उपाधिका लागि भिड्नेछन् भने गोल्डेनगेट कलेज र गजुरमुखी चेस क्लब तेश्रो स्थानको लागि प्रतिष्पर्धा गर्नेछन् ।

No comments: