Sunday 18 June 2023

ईन्टरनेशनल मास्टर मोहम्मद नुवैरशाह सेखद्धारा साउथ एशियन चेस च्याम्पिनशीपको उपाधि रक्षा

३ असार, ललितपुर ।

भारतीय ईन्टरनेशनल मास्टर मोहम्मद नुवैरशाह सेख साउथ एशियन चेस च्याम्पिनशीपको उपाधि रक्षा गर्न सफल भएका छन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा गोदावरी स्थित होटल भ्यु भृकुटीमा आईतबार सम्पन्न च्याम्पियनशीपको नवौं चरणको खेलमा नेपालका फिडेमास्टर क्षितीज भण्डारीलाई पराजित गरेका नुवैरले १ लाख ५० हजार नगद पुरस्कार समेत हात पारे । सन् २०१९ को नोभेम्बर महिनामा बंगलादेशको ढाकामा सम्पन्न च्याम्पियनसीपको पहिलो संस्करणका विजेता समेत रहेका नुवैरले आफ्नो उपाधि रक्षा गर्ने क्रममा अपराजीत रहँदै ९ खेलबाट ८ दशमलब ५ अंक बनाए । राउण्ड रोविन प्रणालीमा सम्पन्न च्याम्पियनसीपमा नेपाल च्याम्पियन फिडेमास्टर रुपेश जयसवालसँग बराबरीको नतिजा हात पारेका उनले बाँकी सबै खेलमा जीत हात पार्न सफल भए । च्याम्पियनसीपमा महिलातर्फको उपाधि वुमन ईन्टरनेशनल मास्टर साक्षी चितलांगेले जितेकी छन् । महिलातर्फको उपाधि हात पार्ने क्रममा सतप्रतिशत जित हासिल गर्न सफल साक्षीले नगद १ लाख हात पारेकी छन् ।

च्याम्पियनसीपमा सहभागी एकमात्र ग्रान्डमास्टर सायानतन दास ७ दशमलब ५ अंकका साथ दोश्रो हुन सफल भए । उपाधि विजेता नुवैरशाहसँग पहिलो चरणमा अंक गुमाउन पुगेका उनी नेपाली स्टार रुपेशसँग समेत बराबरीमा रोकिए भने अन्य ७ खेलमा जीत हात पार्दै १ लाख नगद हासिल गरे । त्यसैगरी ९ खेलबाट ६ अंक बनाउन सफल नेपाल च्याम्पियन रुपेश जयसवालले तेश्रो स्थानमा रहँदै ६० हजार नगद पुरस्कार प्राप्त गरे ।

महिलातर्फ बंगलादेशका वादिफा अहमद ५ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहन सफल भईन भने महिला नेपाल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी ४ दशमलब ५ अंकका साथ तेश्रो हुन सफल भईन । दोश्रो तथा तेश्रो हुन सफल वादिफा र सुजनाले क्रमशः ६० हजार तथा ४० हजार नगद प्राप्त गरे ।

दक्षिण एसियाली राष्ट्रहरु नेपाल, बंगलादेश, भारत, पाकिस्तान र भुटानका खेलाडीको सहभागितामा मंसिर ३० गतेबाट शुरु भएको च्याम्पियनशीपका लागि राष्ट्रिय खेलकुद परिषद, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्जोसोम गाउँपालिका, बागमती गाउँपालिका, महाँकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिको आर्थिक सहयोग रहेको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए । 


Sunday 23 April 2023

National Chess Championship Nepal 2023

 राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

१० वैशाख, काठमाडौं । खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बनेका छन् ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन नवौं चरणको खेलमा रुपेशले राजन सुवेदीलाई हराउँदा सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन् । ८ जित र एक बराबरीको नतिजासहित दुवैले साढे ८ अंक जोडेका हुन् । समान साढे ६ अंकसहित पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र फिडेमास्टर क्षितिज भण्डारी क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे । विजेता रुपेशले २५ हजार तथा दोस्रो र तेस्रो भएका सुरवीर र क्षितिजले क्रमश: १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका ८, साविक विजेता तथा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १–१ गरी १० खेलाडीबीचको राउण्ड रोविन प्रणालीमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी ए च्याम्पियनसिपमा कायम रहेका छन् भने बाँकी सात खेलाडी बी च्याम्पियनसिपमा घटुवा भएका छन् । शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपका लागि स्वतः छनोटसमेत भएका छन् ।

दिव्यांश मन्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स र नेपाल टेलिकमको सह–प्रायोजनमा भएको प्रतियोगितामा महिलातर्फ सुजनाले २५ हजार रुपैयाँ पुरस्कर पाइन् । साढे ५ अंकसहित क्रमश: सुशीला गुरुङ उपविजेता र शान्ति धिमाल तेस्रो भए । नवौं चरणमा यी दुईले बराबरी खेलेका थिए । सुशीलाले १५ हजार तथा शान्तिले १० हजार रुपैयाँ पुरस्कार पाए । खुलातर्फ जस्तै महिलातर्फ पनि शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपमा रहनेछन् भने बाँकी सात जनाले बी च्याम्पियनसिप खेल्नेछन् ।

प्रतियोगितामा खुलातर्फको विजेता रुपेश र महिलातर्फकी सुजनाले बंगलादेशमा यही महिना आयोजना हुने वर्ल्ड कप साइकल एसियन जोनल ३.२ च्याम्पियनसिप तथा एसियन च्याम्पियनसिपका लागि छानिएका छन् । साथै उनीहरुले सन् २०२४ मा हंगेरीको बुढापेष्टमा हुने ४५औं चेस ओलम्पियाडका लागि पनि नेपाली टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

महिलातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतियोगिताकै कान्छी खेलाडी १३ वर्षीया रिया श्रेष्ठ र खुल्लातर्फ १४ वर्षीय पुरुषोत्तम सिलवाललाई महासंघले १५–१७ वैशाखमा आयोजना हुने एसियन युथ मिक्स्ड डवल्स चेस टिम च्याम्पियनसिपमा सहभागिता गराउने भएको छ । एसिया क्षेत्रमा बढ्दो कोरोना संक्रमण दरका कारण यो प्रतियोगिता अनलाइन हुनेछ ।

Final Rank : 

Open

Women

Sunday 8 March 2020

Hera Maya Womens Chess 2020

हेरामाया श्रेष्ठ स्मृति महिला बुद्धिचालको उपाधि सुजनालाई

काठमाडौं । वर्तमान राष्ट्र्रिय च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनीले काठमाण्डौंमा सम्पन्न हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेकी छन् । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ३ दिने प्रतियोगितामा सात खेलबाट ६ दशमलब ५ अंक जोडन सफल सुजनाले नगद २५ हजार समेत प्राप्त गरिन । 

पूर्व राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी ६ अंकका साथ दोश्रो स्थानमा रहँदै १५ हजार नगद प्राप्त गरिन । त्यसैगरी धनुषाकी स्नेहा यादव ५ दशमलब ५ अंकका साथ तेश्रो हुँदै १० हजार नगद प्राप्त गर्न सफल भईन । काठमाडौंकी आभा पुडासैनी, मिसन युथ क्लबकी सन्तोषी विक तथा काठमाडौंकी मार्सल तामाङ समान पाँच—पाँच अंकका साथ क्रमशः चौथो, पाँचौं तथा छैठौं स्थानमा रहन सफल भए । त्यसैगरी झापाकी कुतिसरा अधिकारी, मिसन युथ क्लबका पुर्णिमा गु्रङ, कास्कीका पुजा भण्डारी तथा ताप्लेजुङका शुसीला गरुङ क्रमशः सातौं देखि दशौं स्थानमा रहे ।

काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । फिडेको स्विस लिग अनुसार ७ चरणसम्म सञ्चालित प्रतियोगितामा ३७ जना खेलाडीको सहभागीता रहेको थियो । काठमाडौं जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष अमुतचन्द्र श्रेष्ठले आफ्नी आमा हेरामायाको स्मुतिमा आयोजित उक्त प्रतियोगितालाई आगामी वर्ष थप सहयोग प्रदान गर्दै जाने प्रतिवद्वता व्यक्त गरे । त्यस्तै यो प्रतियोगितालाई थप भव्य बनाउँदै आगामी वर्षबाट मार्च ८ अर्थात अन्तरराष्ट्रिय महिला दिवसको दिन पारेर नियमीत आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताए ।