Monday 26 December 2016

20th National Championship

बुद्धिचालमा केशव र परशुरामको अग्रता

पुष १०, धनकुटा ।

सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी २० औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र पूर्वाञ्चलका परशुराम राई अग्रता बनाउन सफल भएका छन् । आईतबार सम्पन्न दोश्रो तथा तेश्रो चरणको खेलमा केशवले क्रमशः पूर्वाञ्चलका प्रकाश नेपाल तथा एपीएफका सुमीत पन्तमाथी जीत हात पारे । उता पूर्वाञ्चलका अनरेटेड खेलाडी परशुरामले दोश्रो चरणमा मध्यमाञ्चलका नविन तण्डुकार र तेश्रो चरणमा नेपाल आर्मीका हिमाल लामामाथि उत्कृष्ठ जीत हात पारे । तीन चरणको समाप्तिमा केशव र परशुरामको समान तीन–तीन अंक भएको छ ।

वर्तमान नेपाल च्याम्पियन समेत रहेका नेपाल आर्मीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, मध्यमाञ्चलका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, मदनकृष्ण कायस्थ तथा आशिष फुयाँल समान २ दशमलब ५ अंकमा रहेका छन् । दोश्रो चरणको खेलमा मध्यमाञ्चलका गणेशमान दुवालसँग बराबरीमा रोकिएका भुपेन्द्रले तेश्रो चरणको खेलमा पूर्वाञ्चलका सुमन श्रेष्ठलाई हराए । त्यसैैगरी दोश्रो चरणमा पूर्वाञ्चलका सुमनसँग बराबरीमा रोकिएका रिजेन्द्रले तेश्रो चरणमा पश्चिमाञ्चलका यज्ञ रोकायालाई पराजीत गरे । दोश्रोमा आशिष फुँयालसँग बराबरीमा रोकिएका मदनकृष्णले तेश्रोमा मध्यमाञ्चलकै कमल श्रेष्ठमाथि जीत हात पारे र उता आशिषले तेश्रो चरणमा मध्यमाञ्चलकै क्षितीज भण्डारीलाई हराए ।

नेपाल आर्मीका क्यान्डिडेटमास्टर सजिन महर्जन तथा हिमाल लामा, एपिएफका सुमित पन्त, पूर्वाञ्चलका सुमन राई, सिंगेश्वर दास तथा प्रकाश नेपाल, मध्यमाञ्चलका गणेशमान दुवाल तथा नविन तण्डुकार, सुदुरपश्चिमाञ्चलका प्रकाश ओझा समान दुई–दुई अंकमा रहेका छन् ।

५ औं महिला राष्ट्रिय प्रतियोगितामा तीन खेलाडी अगाडी

उता महिलातर्फको खेलमा नेपाल आर्मीका सिन्दिरा जोशी तथा मोनालिसा खम्बु र मध्यमाञ्चलका सविना श्रेष्ठ समान तीन–तीन अंकका साथ अग्रता बनाउन सफल भए । महिलातर्फकी वर्तमान च्याम्पियन सिन्दिराले दोश्रो तथा तेश्रो चरणमा क्रमशः पूर्वाञ्चलकी आश्मा थापा तथा मध्यमाञ्चलकी बीना जयसवाललाई हराईन । मोनालिसाले दोश्रो चरणमा पश्चिमाञ्चलकी अन्जु शर्मा तथा तेश्रो चरणमा नेपाल आर्मीकै वुमन फिडेमास्टर सुजना लोहनीलाई पराजीत गरिन् । त्यसैगरी अनरेटेड सविनाले दोश्रो चरणमा मध्यपश्चिमाञ्चलकी नम्रता पाठक तथा तेश्रोमा पूर्वाञ्चलकी सुशीला गुरुङमाथि जीत हात पारिन ।
एपीएफ क्लबकी शान्ता थापा, नेपाल आर्मीका सुजना लोहनी तथा वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ, मध्यमाञ्चलका संगीता जयसवाल, पूर्णीमा जयसवाल तथा बीना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी, खुस्बु थापा तथा आश्मा थापा समान दुई–दुई अंकमा रहेका छन् ।  

त्यसैगरी पश्चिमाञ्चलकी नमन सेढाईं र पूर्वाञ्चलकी सुशीला गुरुङ समान १ दशमलब ५ अंकमा रहेका छन् ।

No comments: