Wednesday 22 June 2016

National Chess

भुपेन्द्र र सिन्दिरा राष्ट्रिय चेस च्याम्पियन

११ जेठ, ईलाम ।

ट्रफीका साथ भूपेन्द्र र सिन्दिरा 
क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला र सिन्दिरा जोशी नेपाली चेसमा नयाँ राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् । ईलाममा सम्पन्न १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेका झापा दमक निवासी भुपेन्द्रका लागि अन्तिम खेल विर्सनलायक रह्यो । एक चरण अघि नै १९ औं राष्ट्रिय च्याम्पियन बन्नका लागि पर्याप्त अंक जोडेका भुपेन्द्रले पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँगको खेलमा ब्लन्डर गरेपछि खेल त्याग गरे । ९ खेलमध्ये ६ मा जीत, २ बराबरी र १ खेल गुमाएका भुपेन्द्रले ७ अंक सहित च्याम्पियनशीपको उपाधि हात पारेका हुन् ।
१९ औं राष्ट्रिय च्याम्पियन बन्न सफल भूपेन्द्र ।

काठमाण्डौकी सिन्दिरा जोशी एपिएफकी शान्ता थापा तथा पूर्व महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बुलाई टाईब्रेकमा पछि पार्दै चौथो महिला राष्ट्रिय चेस च्याम्पियन बनेकी हुन् । ९ खेलबाट समान ७ अंक भए पनि हेड टु हेड रिजल्टका आधारमा सिन्दिरा च्याम्पियन बनेकी हुन् । नेशनल बी च्याम्पियन समेत रहेकी सिन्दिराले अन्तिम चरणको खेलमा काठमाण्डौकी बिनिता कपालीसँग बराबरीको नतिजा हात पारिन् ।

चौथो राष्ट्रिय महिला चेस च्याम्पियन सिन्दिरा ।
नेपाल आर्मी क्लबका सजिन महर्जनले १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा दोश्रो स्थान हात पारे । अन्तिम चरणको खेलमा पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकारलाई पराजीत गरेका सजिनले ६ दशमलब ५ अंक बनाए । त्यसैगरी १८ औं राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मि क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठले कुल ६ अंकका साथ तेश्रो स्थानमा चित बुझाए । समान ६ अंक बनाएका राष्ट्रिय एमेच्योर च्याम्पियन नेपाल आर्मी क्लबका क्षितीज भण्डारी चौथो तथा बिलमलाल श्रेष्ठ पाँचौं स्थानमा रहन सफल हुँदै आगामी सेप्टेम्बरमा अजरबैजानको बाकुमा हुने ४२ औं चेस ओलम्पियाडका लागि छनौट समेत भएका छन् ।
दोश्रो हुन सफल एपीएफ क्लबका शान्ता थापा ।

उता महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा दोश्रो स्थानमा रहिन भने खोटाङकाी मोनालिसा खम्बु तेश्रो भईन । नुवाकोटकी सुजना लोहनी ६ अंक सहित चौथो तथा नेपाल आर्मी क्लबकी अस्मिता अधिकारी ५ दशमलब ५ अंकका साथ पाचौं स्थानमा रहँदै ओलम्पियाडका लागि छनौट हुन सफल भए ।
तेश्रो हुन सफल नेपाल आर्मी क्लबका सिएम केशव श्रेष्ठ ।

नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईं यसपटक पनि बुकोल्स टाईब्रेक प्रणालीमा पछि पर्दै छैटौं स्थानमा रहे । ९ खेलबाट ६ अंक जोडेका चौंलागाईं १८ औं राष्ट्रिय च्याम्पियनशीपमा समेत टाईब्रेकमा पछि पर्दै छैटौं स्थानमा रहेका थिए । त्यसैगरी नेपाल आर्मी क्लबका हिमाल लामा ६ अंक सहित सातौं स्थानमा रहे । पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल ५ दशमलब ५ अंकका साथ आठौं स्थानमा रहे । समान ५ दशमलब ५ अंक बनाएका झापाका प्रकाश नेपाल र नेपाल आर्मी क्लबका विजय डंगोल क्रमशः नवौं तथा दशौं स्थानमा रहे ।

तेस्रो हुन सफल सिएम मोनालिसा खम्बु ।
महिलातर्फ ओलम्पियाड खेलाडी संगीता जयसवाल, तेश्रो राष्ट्रिय च्याम्पियन रहेकी नेपाल आर्मी क्लबकी बिना जयसवाल, काठमाण्डौकी अनिशा न्यौपाने तथा आभा पुडासैनी समान ५÷५ अंकका साथ क्रमशः छैटौं, सातौं, आठौं तथा नवौं स्थानमा रहन सफल भए । त्यस्तै रौतहटकी बिशेखा जयसवाल ४ दशमलब ५ अंक सहित दशौं स्थानमा रहिन् ।

दोश्रो हुन सफल नेपाल आर्मी क्लबका सजिन महर्जन ।
सिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा सम्पन्न च्याम्पियनशीपमा महिलातर्फ १८ तथा खुलातर्फ ३५ खेलाडीको सहभागिता रहेको थियो । नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भएको च्याम्पियनशीपका विजेतालाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र लाखे, नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम, गजुरमुखी निर्माण कम्पनिका प्रमुख दिपक गौतम लगायतले पुरस्कार वितरण गर्नुभयो ।
जीवन संगिनी मन्जुका भूपेन्द्र ।

ब्लिजतर्फ मनिष र बिना च्याम्पियन
फिडेमास्टर मनिष हमाल पहिलो राष्ट्रिय ब्लिज चेस च्याम्पियन बनेका छन् । त्यसैगरी पहिलो महिला राष्ट्रिय ब्लिज चेस च्याम्पियनको उपाधि नेपाल आर्मी क्लबकी बिना जयसवालले हात पारिन । शनिबार ईलाममा सम्पन्न च्याम्पियनशीपमा खुलातर्फ झापाका प्रकाश नेपाल दोश्रो तथा नेपाल आर्मी क्लबका क्षितीज भण्डारी तेश्रो स्थानमा रहन सफल भए । त्यसैगरी महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा तथा नुवाकोटकी सुजना लोहनी क्रमशः दोश्रो र तेश्रो स्थानमा रहन सफल भए ।

उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर तथा सदस्य, नेपाल बुद्धिचाल संघ ।

No comments: