Wednesday 18 May 2016

National Chess

ईलाममा हुने राष्ट्रिय चेस प्रतियोगिताको तयारी पुरा

५ जेठ, ईलाम ।
शिवानी एअरलाईन्सको प्रमुख प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा यही जेठ ६ गतेदेखि ईलाम सदरमुकाममा शुरु हुने राष्ट्रिय चेस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । ६ दिन सम्म सञ्चालन हुने १९ औं राष्ट्रिय चेस प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा ५३ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन हुने च्याम्पियनसीपमा खुलातर्फ ३५ तथा महिलातर्फ १८ खेलाडीको सहभागीता रहने कार्यक्रम संयोजक एवं नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।


यस प्रतियोगिताको विजेता १९ औं राष्ट्रिय चेस च्याम्पियन हुनेछन भने महिलातर्फका विजेता चौथो राष्ट्रिय विजेता घोषित हुनेछन् । साथै प्रतियोगितामा उत्कृष्ट पाँच स्थानमा रहने खेलाडीले आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरबैजानको बाकुमा हुने ४२ औं चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेशनल ए को रुपमा पहिलोपटक सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागीताका लागि गत बैशाख महिनामा ललितपुरमा नेशनल बि च्याम्पियनसीपको आयोजना भएको थियो । उक्त प्रतियोगिताबाट खुलातर्फ २० तथा महिलातर्फ १२ खेलाडी छनौट भएका हुन । त्यसैगरी ४१ औं चेस ओलम्पियाडका सहभागी, विभिन्न उमेर समुहका राष्ट्रिय विजेता तथा विभागीय टिमका १ एकएक जना खेलाडीले नेशनल एमा प्रतिष्पर्धा गर्नेछन् ।

फिडेको स्विस लिग अनुसार ९ चरणसम्म स्थानीय होटल समिटमा हुने प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गर्नेछन् । बिहिबार झाँकी तथा ¥यालीसहित बजार परिक्रमा गरेर गौतम बुद्ध सभागृहमा भव्य उद्घाटन हुने कार्यक्रमका स्थानीय व्यवस्थापक ईलाम जिल्ला बुद्धिचाल संघका अध्यक्ष याम लिम्बुले बताउनुभयो ।

-उमेश केसी

अन्र्तराष्ट्रिय आर्विटर ।